त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुर निलम्बनमा परेका हुन् ।

ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ । सोबारे जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गरिएका हो ।

यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ ।

ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।