वाग्मती प्रदेशको १३ जिल्लामा ८१ हजार हेक्टरमा रोपाइँ

वाग्मती प्रदेशको १३ जिल्लामा असार मसान्तसम्ममा ८१ हजार हेक्टर खेती योग्य जमिनमा धान रोपाइँ सकिएको छ ।

वाग्मती प्रदेशमा समयमा नै वर्षा भएको कारणले नदी, खोला, नहर र आकाशे पानीले रोपाइँ समयमा गरिएको बताइएको छ । कतिपय ठाउँमा अझै रोपाइँ जारी छ ।

प्रदेशमा कूल एक लाख ३२ हजार २२८ हेक्टर जमिनमा धान खेती हुनेमध्ये ८१ हजार हेक्टर जमिनमा उक्त खेती भएको हो । प्रदेशमा गत वर्ष असार मसान्तसम्ममा ५२.२ प्रतिशत जमिनमा रोपाइँ गरीएको वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ जिल्लामध्ये चितवनमा ६५ प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । चितवनमा २८ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये १८ हजार ५९० हेक्टरमा रोपाइँ गरिएको बताइएको छ । मन्त्रालयका कृषि अधिकृत दीपेन्द्रमणि लामिछानेका अनुसार मकवानपुरमा सात हजार ७०० हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

यसै गरी सिन्धुलीमा १५ हजार ३०० हेक्टर क्षेत्रफलमध्ये नौ हजार ९४५ अर्थात् ६५ प्रतिशत, धादिङ जिल्लामा १२ हजार हेक्टर क्षेत्रफलमध्ये चार हजार ८०० हेक्टर अर्थात् ४० प्रतिशत रोपाइँ सकिएको छ । भक्तपुरमा चार हजार ३०० हेक्टर जमिनमध्ये चार हजार ८५ हेक्टर जमिन अर्थात् ९५ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । काठमाडौँमा सात हजार ८८० हेक्टरमध्ये सात हजार ९२ हेक्टर अर्थात् ९० प्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।

त्यस्तै काभ्रेपलान्चोकमा सात हजार १५० हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार ५०० हेक्टरमा धान रोपाइँ भएको छ ।

मन्त्रालयका अनुसार नुवाकोटमा १४ हजार ५०० हेक्टर जमिनमध्ये ३० प्रतिशत अर्थात् चार हजार ३०० हेक्टर र रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत अर्थात् ३८२ हेक्टर तथा ललितपुरमा चार हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ९० प्रतिशत अर्थात् चार हजार १८० हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार ८१० हेक्टर क्षेत्रफलमध्ये ५६ प्रतिशत अर्थात् चार हजार ९३३ हेक्टर र दोलखामा दुई हजार ९२० हेक्टरमध्ये एक हजार ९८५ हेक्टर अर्थात् ६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ पूरा भएको मन्त्रालयले जनाएको छ । धान खेतीतर्फ किसानले जोड दिए पनि समयमा मल र गुणस्तरीय धानको बीउ नपाउनु किसानको समस्या रहेको मकवानपुरगढीका रामप्रसाद भण्डारीको गुनासो रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार