काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले भीभीआइपीहरू औपचारिक कार्यक्रममा जाँदा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्न माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका सांसद पन्तले जनताका दुख र गुनासालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने बताए।
गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आफू पनि सडकमा यात्रा गरिरहेको उल्लेख गर्दै पन्तले मानिसहरूले गाली गर्न थालेपछि लोगो छोपेको बताए।
‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन। अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ,’ पन्तले भने, ‘थुप्रै मानिसले गाली गरिरहेका छन्। मैले लोगो छोप्नुपर्यो, म चढेको बाइकलाई अगाडि बढाऊ भनेर मुखमा मास्क लगाउनुपर्यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले।’
गत माघ २७ गते राष्ट्रपति संघीय संसद बैठकमा सम्बोधन गर्न आउजाउ गर्दा बाटो खाली गराइएको थियो।