भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा भारतीय टिमको सहभागिता भारत सरकारको निर्णयमा निर्भर रहेको बताएका छन् ।
आउँदो वर्षको फेब्रुअरीदेखि मार्चसम्म सञ्चालन हुने तालिका रहेको च्याम्पियन्स ट्रफीमा भारतीय टिमको सहभागितालाई लिएर अन्योल भइरहँदा उपाध्यक्ष शुक्लाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
“च्याम्पियन्स ट्रफीको सन्दर्भमा हामी भारत सरकारले जे गर्न भन्छ, सोहीअनुरूप गर्नेछौँ,” उनले भने, “हामी भारत सरकारले अनुमति दिए मात्र टिम पाकिस्तानमा पठाउनेछौँ । हामी भारत सरकारको निर्णयानुसार चल्नेछौँ ।”
चर्को राजनीतिक तिक्तताका कारण भारतीय टिमले गत वर्ष भएको एसिया कपमा पनि पाकिस्तानको भ्रमण गरेको थिएन । भारतले सहभागिता जनाउन इन्कार गरेपछि पाकिस्तानले प्रतियोगितालाई ‘हाइब्रिड मोडल’मा लैजाँदै श्रीलंकासँग सहआयोजनाको सहकार्य गरेको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भने सुरक्षाका कारण च्याम्पियन्स ट्रफीअन्तर्गत हुने भारतका खेलहरू लाहोरमा गर्ने प्रस्ताव गरेको छ ।