सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङ नियुक्त भएका छन् । अनिल उपाध्याय चार बर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।बैंक सञ्चालक समितिले शनिवार गुरुङलाई नियुक्त गरेको हो।
उनी हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। सिभिल बैंक छाडेर उनी म्यानमारको एक बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए। त्यसपछि उनी कृषि विकास बैंकमा नियुक्त भएका हुन्। चार बर्षे कार्यकालका लागि गुरुङले नियुक्ति लिएका हुन्। उनी हिमालयन बैंक,ग्लोबल बैंक,मेगा बैंक हुँदै सिभिल बैंक पुगेका थिए।
लमजुङमा जन्मिएका गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।
उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।
त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।