काठमाडौँ । मौसमलाई कारण देखाउँदै झण्डै २ महिनादेखि उडान रोकेको जजिरा एयरलाइन्सले पुनः गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने भएको छ ।
आगामी फागुन २५ गतेदेखि भैरहवा–कुँबेत नियमित उडान भर्नेगरी एयरलाइन्सले आइतबार गौतमबुद्ध विमानस्थललाई पत्र पठाएको हो ।
गत जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले भैरहवा–कुँबेत नियमित उडान भर्दै आएको थियो । शुरुका दिनमा सातामा साथै दिन उडान भरिरहेको एयरलाइन्सले क्रमशः उडान संख्या घटाउँदै सातामा तीन दिन उडान भरिरहेको थियो ।
तर, गत पुस ६ गते अकस्मात मौसमलाई कारण देखाउँदै एयर जजिराले उडान रोकेको थियो । त्यसो त यसअघि नै पुस १ गते हिमालय एयरलाइन्सले समेत गौतमबुद्ध विमानस्थलबाट हुने आफ्नो सम्पूर्ण उडान रोकेको थियो ।













