राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीको विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको सो पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वका गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको छ । सो समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने उनले बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ । उनका अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ ।

बैठकमा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको ती नेताले बताए ।