नेपालको राष्ट्रपतिका लागि भारतीयले दिए चार नाम

काठमाडौं : नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्।

सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको नाम उल्लेख गरेका हुन्।

‘नेपालमा सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज छ’, ट्वीटरमा उनले लेखेका छन्, ‘देवेन्द्रराज पाण्डे, प्रा।बराल (सम्भवतः लोकराज बराल), दमन ढुंगाना र अनुराधा कोइराला जस्ता इमान्दार र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्ति योग्य छन्।’

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहँदा नेकपा एमाले एवं नेपाली कांग्रेसले आफूले पाउनुपर्ने अडान राख्दै आएका छन्। गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहँदा मुनिको यस्तो धारणा सार्वजनिक भएको हो।