मध्यरातमा देउवा किन पुगे बालुवाटार ?

काठमाडौं : प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल चलिरहँदा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहयोगका लागि औपचारिक रूपमै प्रस्ताव गरेको छ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका कांग्रेस सभापति देउवासहित शीर्ष नेताहरूले राष्ट्रपति पदमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्रीलाई भेट्न सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका हुन्। महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति पदको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा सरकार गठनलगत्तैदेखि पटक पटक छलफल भइसकेको छ। उनीहरूबीच सहमति कायम गर्नेगरी छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि राष्ट्रपति पदका लागि आफ्ना उम्मेदवारलाई सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको हो।

बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले यस विषयमा पार्टीको पदाधिकारी बैठकमा छलफल गर्ने बताएका छन्। ‘प्रधानमन्त्रीज्यूबाट सकारात्मक जवाफ आएको छ। उहाँले पार्टीभित्र परामर्श गरेर निर्णयमा पुग्ने बताउनुभयो’, उनले भने, ‘माओवादी केन्द्रबाट सकारात्मक निर्णय आउनेमा हामी विश्वस्त छौँ।’

राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संसद्को पहिलो दल कांग्रेसले उम्मेदवारी दिने तयारी गरिरहँदा दोस्रो दल एमालेले पनि उम्मेदवार उठाउने भएको छ।