टी२० विश्वकप : पाकिस्तानविरुद्ध सुपर ओभरमा अमेरिकाको जित

आईसीसी टी२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध जित निकालेको छ ।

टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो । उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै बनाएपछि खेल टाई भयो ।

घरेलु टिमले सन् २००९ को विश्वकप विजेताविरुद्ध सुपर ओभरमा पाँच रनको जित निकाल्दै सनसनी मच्चाएको हो । ट्वान्टी २० क्रिकेट संरचनामा यी दुई टिम पहिलो पटक भिडेका हुन् ।

सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १८ रनको योगफल खडा गरेको थियो । १९ रनको लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तानले ६ बलमा एक विकेट गुमाएर १३ रनमात्र बनाएपछि अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय भेटमै विश्वकप विजेतालाई हराएको हो ।

त्यसअघि खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानबाट कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । उनले ४३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २६–३ को अवस्थाबाट आजमले सदाब खानसँग ७२ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए ।

सदाबले २५ बलमा एक चौका र तीन छक्कासहित ४० रन थपे । साहिन साह अफ्रिदीले २३ र इफ्तिखर अहमेदले १८ रन बनाए ।

अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए । सौरभ नेत्राभाल्करले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान एक विकेट लिए ।

१६० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाले पनि निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएको हो । अमेरिकालाई जितका लागि अन्तिम ओभरमा १५ रनको आवश्यकता थियो । तर, क्रिजमा रहेका आरोन जोनस र नितिश कुमारले ह्यारिस रौफको ओभरमा १४ रनमात्र बनाएपछि नतिजाको निर्णयका लागि सुपर ओभर आवश्यक परेको हो ।

अमेरिकाका कप्तान मोनांक पटेलले ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरे । आरोना जोनसले ३६, एन्ढ्रिएस गोउसले ३५, नितिश कुमारले १४ र स्टेभन टेलरले १२ रन बनाए ।

पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र ह्यारिस रौफले समान एक विकेट लिए ।

प्रतियोगितामा अमेरिकाको लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो । लगातार दोस्रो जित निकालेको अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार