नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। शुक्रबार उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो। त्यसपछि उनले राष्ट्रपति मुर्मुसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।
त्यस क्रममा राष्ट्रपतिले आफूलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त गरेको मोदीले बताएका छन् ।
बीबीसी हिन्दीका अनुसार राष्ट्रपतिसँगको भेटपछि मोदीले भने, ‘राष्ट्रपतिले मलाई नवनिर्वाचित प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ र शपथ समारोह र मन्त्रिपरिषद्का सदस्यहरूको सूचीका लागि जानकारी गराउनुभएको छ।’
मोदीका अनुसार उनले भोलि आइतबार साँझ ६ बजे शपथ खाने छन् भने त्यसबेलासम्म मन्त्रीहरूको सूची राष्ट्रपतिलाई बुझाउनेछन्।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्उ नी पहिलोपटक २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०१९ मा प्रधानमन्त्री बने ।
अहिले २०२४ मा भएको निर्वाचनमा उनको पार्टी भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्यायो अर्थात् ५४३ सदस्यीय लोकसभामा २९२ सिट जित्यो। सोही कारण उनी लगातार तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।
भाजपा एक्लैले भने यसपटक २४० सिट मात्र जितेको छ । यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि त्यतिबेला भाजपा एक्लैले बहुमत सिट जितेको थियो ।