युवतीकाे हत्या आरोपमा श्रीमानसहित तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो ।

सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डीएसपी कार्कीको भनाइ छ ।

घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै उनले वास्तविकता पत्ता लाग्न समय लाग्ने बताए । प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो ।