आईसीसी ट्वान्टी–२० विश्वकपमा अस्ट्रेलियाले लगातार तेस्रो जित निकाल्ने क्रममा नामिबियाविरुद्ध नौ विकेटको सहज जित निकालेको छ ।
बुधबार नर्थ साउन्डमा भएको खेलमा नामिबियाले प्रस्तुत गरेको ७३ रनको लक्ष्य अस्ट्रेलियाले आक्रामक ब्याटिङ गर्दै ५.४ ओभरमा एक विकेट गुमाएर भेट्टाएको हो ।
अस्ट्रेलियाको जितमा ट्राभिस हेडले सर्वाधिक ३८ रन बनाए । उनले १७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । डेविड वार्नरले आठ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान मिचेल मार्सले नौ बलमा तीन चौका र एक छक्कासहित १८ रन बनाए ।
नामिबियाका डेविड वाइजेले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नामिबियाले १७ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।
नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले सर्वाधिक ३६ र माइकल भान लोन्गनले १० रन थपे । यसबाहेक, अन्यले दोहोरो अंकमा रन थप्न सकेनन् । नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक चार विकेट लिए । जस हेडजवुड र मार्कुस स्टोइनिसले समान दुई विकेट हात पारे । प्याक कुमिन्स र नाथन इल्सको नाममा एक–एक विकेट रह्यो ।
लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया प्रतियोगिताको सुपर–८ मा स्थान बनाउने पहिलो टिमसमेत बनेको छ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले ६ अंक जोडेको छ । अस्ट्रेलियाले यसअघि पहिलो खेलमा ओमान र दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध जित निकालेको थियो ।
समान खेलबाट दुई अंक जोडेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ ।