राष्ट्रपतिमा चर्चा भएपछि माधवको प्रतिक्रिया – सकारात्मक छलफल भइरहेको छ

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा चाहना भएपनि कुनै निर्णय गरिनसकेको बताएका छन्।

मंगलबार बिहान दाङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आकांक्षा भए पनि कुनै निर्णय गरिनसकेको बताएका हुन्। उनले पावर सेयरिङमा पार्टीको भूमिका हुनुपर्ने बताउँदै सधैँभरी अरूको निम्तीमात्रै बलिदान दिन नसकिने बताए। अध्यक्ष नेपालले चुनावअघि राष्ट्रपतिमा झलनाथ खनालको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमत भएको दाबी गरे।

‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरी अरूको निम्तीमात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’