घरदैलो स्वास्थ्य सेवा सुचारु गर्नुपर्छ : राष्ट्रपति भण्डारी

हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने बताएकी छिन्।

मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले स्वस्थ मानिसबाट मात्रै स्वस्थ मुलुक निर्माण हुनसक्ने भन्दै आयुर्वेद र वैकल्पिक चिकित्सासँगै स्वास्थ्य बिमालाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताइन्।

भण्डारीले संघीयताको अवधारणाअनुसार सबै प्रदेशमा सुविधा सम्पन्न अस्पताल हुनुपर्ने बताइन्। भवन उद्घाटनलगत्तै राष्ट्रपति भण्डारीले अस्पतालको निरीक्षण समेत गरेकी थिइन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ७० शय्याको नयाँ भवन ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको हो। भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हेटौंडा अस्पतालको विकासले नागरिकलाई स्वास्थ्य सेवामा गुणस्तरीय सेवा दिन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।