सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शीर्ष नेताहरूले आज काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।
मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।
‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताव लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटवार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शीर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाहिँ काँग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पूर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरू बिच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको र कुनै निष्कर्ष ननिस्की रहेको बेला लोसपाले आफनो अध्यक्ष ठाकुरलाई अघि सारेको हो ।