लोसपा नेताहरु देउवा निवासमा, राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्न आग्रह

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनु पर्ने प्रस्ताव लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो ।

ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा नेता केशवकुमार झाले जानकारी दिए ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।