विषाक्त रक्सी सेवनबाट भारतको तमिलनाडुमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सो घटना स्थानीय कल्लाकुरुची जिल्लामा भएको जनाइएको छ । मंगलबार राति रक्सी सेवनपछि सो ठाउँका बासिन्दा बिरामी परेका थिए ।
बिरामी भएका करिब ८० जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृतकको संख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । मदिरा पिएपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन भएको थियो ।
प्रहरीले यस प्रकरणमा एक ४९ वर्षीय के कन्नुकुटीलाई पक्राउ गरेको छ । उनको साथबाट मिथानोल मिसाइएको झन्डै २ सय लिटर विषालु मदिरा बरामद भएको छ ।
सो घटनालाई लिएर वरिष्ठ प्रहरी अधिकारीलाई पनि निलम्बन गरिएको छ । उनीहरूको लापरबाहीले गर्दा गलत रक्सीको कालोबजारी त्यस क्षेत्रमा भएको अनुमान गरिएको छ ।