फिफा वरीयतामा तीन स्थान उक्लियो नेपाल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिमले तीन स्थान सुधार गरेको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार हाल नेपाल १७५औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७८औँ स्थानमा थियो ।

नेपालले फिफाको जुन विन्डोमा विश्वकप छनोटको दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) र यमनसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले यूएईसँग ४–० को हार बेहोरे पनि यमनसँग भने २–२ को बराबरी खेल्दै अंक खोसेको थियो । यही दुई खेलका आधारमा नेपालले वरीयतामा तीन स्थान सुधार गरेको हो ।

नेपाल दक्षिण एसियाली वरीयतामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२४औँ स्थानमा छ । भारत यसअघिको वरीयताभन्दा तीन स्थान तल खस्किएको हो । यस्तै, दोस्रो स्थानको माल्दिभ्स एक स्थान सुधारसहित १६०औँ स्थानमा उक्लिएको छ ।

चौथो स्थानको भुटान पनि दुई स्थान सुधार गर्दै १८३औँ स्थानमा उक्लिएको छ । पाँचौँ स्थानको बंगालदेश भने एक स्थान घटुवामा पर्दा १८५औँ स्थानमा छ । छैटौँ स्थानको पाकिस्तान दुई स्थान घटुवामा पर्दा १९७औँ स्थानमा छ । दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा पुछारमा रहेको श्रीलंका २०५औँ स्थानमा छ । श्रीलंका पनि एक स्थान घटुवामा परेको हो ।

विश्व वरीयतामा भने विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ । दोस्रो र तेस्रो स्थानमा फ्रान्स र बेल्जियम यथावत् छन् । कोपा अमेरिकाअघि ब्राजिल एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिँदा इंग्ल्यान्ड पाँचौ स्थानमा छ । वरीयताको छैटौँ स्थानमा पोर्चुगल, सातौँ स्थानमा नेदरल्यान्ड्स, आठौँ स्थानमा स्पेन, नवौँ स्थानमा क्रोएसिया र १०औँ स्थानमा इटाली छन् ।

सम्बन्धित समाचार