माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी – कैलालीमा माइक्रो बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–९ बल्मीमा बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नवीन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जोहारीले बताए।