मधेस प्रदेश मुख्यमन्त्री कार्यालय घेराउ

काठमाण्डौ – चुरे तथा वनजङ्गल संरक्षण अभियानले आज बिहीवारदेखि जनकपुरमा आन्दोलन सुरु गरेको छ । भूमिहीनहरूलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै अभियानले आजदेखि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो ।

आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरे ।

आफूहरूले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नुपरेको अभियानमा संरक्षक सरोज रायले बताए । उनले भने, ‘हाम्रो माग पूरा नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुनेछौँ ।’

मधेस सरकारले आफूहरूले विगतमा राखेको पाँच सूत्रीय माग सम्बोधन नगरेपछि यो आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको अभियानले जनाएको छ ।