बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अफगानिस्तानको जितसँगै अस्ट्रेलिया विश्वकपको सुपर ८ बाटै बाहिरिएको छ । अस्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ । सुपर ८ मा बंगलादेश भने जितविहीन रह्यो ।

अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगालदेशले १७.५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भयो । वर्षाका कारण बीचमै खेल रोकिएपछि १ ओभर घटाइएको थियो । बंगलादेशका ओपनर लिटोन दास ५४ रनमा नटआउट रहे । उनले ४९ बलमा ५ चौका र १ छक्का हाने । तोहिड ह्दोयले १४ र सौम्य सरकारले १० रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

अफगानिस्तानका रासिद खान र नविन उल हकले समान ४ विकेट लिए । फजहक फारुकी र गुलाबीदिन नैवले समान १ विकेट लिए ।

यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।

बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एकरएक विकेट लिए ।

यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर-८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो ।

सम्बन्धित समाचार