केन्या सरकारले कर बढाउने गरी ल्याउन लागेको विधेयक फिर्ता लिएको छ । बुधबार केन्याका राष्ट्रपति विलियम रूटोले कर वृद्धिसम्बन्धी विधेयक फिर्ता लिएका हुन् ।
करवृद्धिसम्बन्धी विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेपछि केन्यामा देशव्यापी प्रदर्शन भएको थियो ।
केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले देशवासीले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।’
केन्यामा सरकारको नयाँ वित्त विधेयकका विषयमा विवाद भएको थियो र धेरै दिनसम्म विरोध प्रदर्शन भएको थियो । यसबीच जब संसद्ले विधेयक पारित गर्यो, तब आन्दोलनले हिंसात्मक रूप लियो ।
गत मंगलबार हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो । विधेयक पारित भएपछि आन्दोलनकारीले संसद्मा समेत प्रवेश गरी आगजनी गरेका थिए ।
राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताएका छन् ।