काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे व्यापक छलफल भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा तत्कालीन पाँच दलीय गठबन्धनका चार दलबीच छलफल भएको हो ।
स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेसका नेताहरुले पावर सेयरिङ बारेमा सामान्य खाका पेस गरेका थिए । जसमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई बाँढ्ने उल्लेख छ । बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिन सकिनेबारे छलफल भएको छ । यस्तै उपराष्ट्रपति जसपाले लिने लगभग सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठको दाबी छ ।
यस सझदारीलाई मुर्त रुप दिन बेलुका ५ बजे शीर्ष नेताहरुबीच छलफल गरेर निर्णय गरिने भएको छ । ५ बजेअघि चार दलबीच भएको छलफलका विषयमा आ–आफ्ना दलभित्र छलफल गरेर मात्रै बेलुका सहमतिलाई मूर्त रुप दिने नेताहरुको तयारी छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शिर्ष नेतृत्वको उपस्थिति रहेको छ ।














