भारतमा शुक्रबार बिहान भएको भीषण वर्षाका कारण नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको एक छत खसेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार छत खस्दा ६ जना घाइते भएका छन् । छत गाडी र ट्याक्सीमाथि खस्दा केही मानिस पुरिएको जनाइएको छ ।
दिल्ली फायर विभागलाई घटनाको सूचना दिइएको छ । विभागका चार गाडी उद्धारका लागि त्यहाँ पुगेका छन् । छतका साथै त्यसमा सपोर्ट गर्ने बीम समेत खसेको जनाइएको छ । जसका कारण पिक अप र ड्रप अपका लागि त्यहाँ गएका गाडी क्षतिग्रस्त भएका छन् ।
नागरिक उडड्यनमन्त्री राममोहन नायडुले एक्समा व्यक्तिगत रूपमा उनले घटनालाई हेरिरहेको र घाइतेलाई अस्पताल पठाइएको जनाएका छन् ।
दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले बीबीसी हिन्दीसँग भनेका छन्, ‘बिहानैदेखि भइरहेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विङको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो । केही घाइते भएका छन् । सबै घाइतेलाई आकस्मिक उपचारका लागि आवश्यक सहयोग र चिकित्सा सेवा उपलब्ध गराइँदै छ ।’
यो घटनाको कारण टर्मिनल १ का सबै उडान अस्थायी रूपमा रोकिएका छन् । सुरक्षाका कारण चेक इन काउन्टर पनि बन्द गरिएको उनले जनाएका छन् ।