एमालेले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन 

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका हुन् ।

बिहीबार साँझ मुख्यमन्त्री महरालाई बुझाइएको उक्त पत्रमा अबका दिनमा राजनीतिक स्थायित्वको लागि सहमतिको सरकार गठनको पहल गरिएकोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ ।

समर्थन फिर्तासँगै मन्त्रीहरूको राजीनामा पत्र पनि मुख्यमन्त्रीलाई बुझाएको लिला गिरीको सचिवालयले बताएको छ ।

आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।

एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमालले केन्द्रमा प्रचण्ड सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो । आज बिहीबार मात्रै सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार