दुर्घटनापछि घाइतेलाई बीच सडकमै छोडेर भागेका तीन जना अफलाइन राइडर ​पक्राउ

काठमाडौंमा अफलाइन राइड गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई आइतबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जुम्ला घर भई काठमाडौंको तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरुङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन् ।

उनीसँगै उनका २ जना साथीहरू पनि गोङ्गबुबाट हात्तीवन जान लागेका थिए । उनीहरूलाई तेज रावलसहित तीन जनाले अफलाइन राइडमार्फत गन्तव्यमा लग्दै थिए ।

जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् ।

एसपी अधिकारीका अनुसार मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सीबीजेड मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा असार १८ गते अनुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट भागेका थिए ।

प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोलीले तीन जना राइडरहरूलाई नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिए ।

प्रहरीले तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार