साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रमबीच फिल्मको ‘मन्जुरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई देखाएको छ । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन् । सङ्गीत निर्माता रिकेश गुरुङ हुन् । यो गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।
गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन् ।नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे ।
फिल्ममा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको छ ।
चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।