नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

इंग्ल्यान्ड  युरोपियन च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

खेलमा अग्रता भने नेदरल्यान्ड्सले लिएको थियो । सातौं मिनेटमा सिमोन्सले गोल गरेर डच टोलीलाई अग्रता दिलाए । १८ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गोल फर्काउन सफल भयो । प्राप्त पेनाल्टीमा ह्यारी केनले गोल गरेका थिए ।

९० मिनेटमा सब्सिच्युट खेलाडी ओली वाट्किन्टले गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्न सफल भयो । अब उपाधिक लागि इंग्ल्यान्डले स्पेनसँग आगामी आइतबार बर्लिनमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफमा इंग्ल्यान्ड हावी रह्यो । उसका फिल फोडेनको एउटा लामो दूरीको प्रयास पोस्टमा लागेको थियो ।

नेदरल्यान्ड्सले पहिलो हाफपछि खेल नियन्त्रणमा लिन सफल भएको थियो । जसमा इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले महत्वपूर्ण सेभहरु गरेका थिए ।

सन् १९६६ को विश्वकपको फाइनल र वेम्बलीमा युरो २०२० फाइनल खेलेपछि इङ्ल्यान्डले पहिलो पटक विदेशी भूमिमा फाइनल खेल्ने भएको छ । अघिल्लो युरोको फाइनलमा इंग्ल्यान्ड घरेलु मैदानमा इटालीसँग स्तब्ध भएको थियो ।

सम्बन्धित समाचार