नाजिर हुसेन मुख्य भूमिकामा रहेको चलचित्र ‘गुन्यो चोलो : कमिङ अफ एज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र कात्तिक ९ मा प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।
बिहीबार नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा नाजिर फरक लुक्समा छन् । नाजिरको लुक्स र पोस्टरले चलचित्रको कथावस्तु बोल्छ ।
पोस्टरमा नाजिर पहेलो रङको वान पिसमा छन् । उनले एउटा हातमा विग (नक्कली कपाल) छ भने अर्को हातमा हिल्स । शरीरमा चोट देखिन्छ । यसले नाजिर पीडामा रहेको देखाउँछ । मेकअपका आधारमा नाजिर ‘ट्रान्सवुमन लुक्स (मेल टु फिमेल)’को भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।
चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी छन् । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ ।
अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले समलिंगी तथा तेस्रोलिंगीको कथालाई उठान गरेको छ ।
नाजिरसँगै चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।
चलचित्रको पोस्टप्रोडक्सनको काम नेपाल बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन, ब्याकग्राउन्डस्कोर नेपाल बाहिर गरिएको निर्माण पक्षले बताएको छ ।
चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको सहकार्यमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि. भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।