बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित

पर्साको वीरगन्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि आफन्त तथा परिवारजन चिन्तामा छन् ।

बिहीबार राति ८ बजे छुटेको एन्जल यातायातको प्रदेश ३, ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना थिए । स्थानीय दशै पण्डितले आफ्ना काका परमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताए ।

‘हिजो रात्रिबस चढेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो, एक्कासि उहाँ चढेको बस पहिरामा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ,’ बसपार्कमा भेटिएका उनले भने, ‘काकासहित बस सवार सबै यात्रु सकुशल रहेको सुखद खबरको प्रतीक्षामा छौँ ।’

एन्जल डिलक्स प्रालि, वीरगन्जका इन्चार्ज विनोदप्रसाद कलवारले बिहीबार काठमाडौँ प्रस्थान गरेको प्रदेश बसमा चालकसहित २४ जना रहेको बताए । ‘बसको चलानमा चालक, सहचालक र सहयोगीसहित २४ जना रहेका छन् । हिजो हाँसीखुसी बिदाइ गरेका थियौँ तर पहिरामा परेको सुन्दा निकै दुःखी भएका छौँ ।’

कलावारकाअनुसार बसमा १७ नेपाली र सात भारतीय नागरिक रहेका थिए। बस चालक जवाहिर महतो, सहचालक चौधरी थरका एक युवक र अर्को राजकुमार लामिछाने रहेका थिए ।

बसको चलानीमा पिपराका प्रकाश पटेल, वीरगन्ज महानगरपालिकाका अरविन्द दुबे, वीरगन्ज महानगरका हरेन्द्र पण्डित, बारा मुरहरवाका प्रमानन्द पण्डित, पर्साकै विद्यानारायण राउत, रघुनाथपुरका सलिम मियाँ, कटैयाका रैफुल आलम र रामनगरीका थर नखुलेका सुजित भनिने व्यक्ति सवार थिए ।

भारतीय नागरिकमा सन्तोषकुमार ठाकुर, अन्सारी जी, सुरेन्द्र साह, सुनील साह र शहनावाज रहेका छन् । अन्सारीका नाममा दुईवटा टिकट काटिएकाले अर्का यात्रुको पहिचान खुलेको छैन ।

आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर आउँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार