मोरङमा मालिकको हत्या गरि भागेका कामदार दम्पत्ति पक्राउ

मोरङ प्रहरीले सुन्दरहरैँचामा कुखुरा फर्मका सञ्चालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

डीएसपी बस्‍नेतका अनुसार उनीहरू सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरि फरार भएका थिए । पक्राउ परेकाहरु मृतकको फर्मका कामदार दम्पत्ति हुन् ।

बजगाईंले घर नजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएका थिए ।

उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाको गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फार्मका सञ्चालक बजगाईंले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा उनीहरूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको थियो भने शरीरका अन्य भागमा चोट देखिएको थियो ।

मोरङमा कुखुरा फर्म भित्रै मालिकको हत्या गरि दम्पती फरार

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार