‘छोरी-ज्वाइँ पाहुना आएका छन्’ भन्दै कुलबहादुरले घर छाड्न नमान्दा…

कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन्, ‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्छ, पहिरो आयो भने भागौँला ।’

उनकी सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न देवरको घर गएकी थिइन् । साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर गइन् ।

सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बसेकी थिइन्। अन्य सबै जना घरमा एउटै कोठामा थिए । राति १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उनी र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै थिए। भूकम्प जस्तो भयो। दुवैजना डरले कोठाबाट बाहिर निस्किए ।

राधिका डरले पल्लोघरतिर भागिन् । सूवर्ण भाईको परिवारलाई बचाउँछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिराले पुरिसकेकेको थियो ।

पहिरोले कुलबहादुरसहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ र २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुर्यो ।

कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भए । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिननै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरे पनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।

‘अस्ति सानो पहिरो खसेको थियो । अब तल आउँदैन होला भन्ने भयो । आयो भने भाग्ने भनेर बसेका पनि थियौँ,’ राधिकाले भनिन् । उनका अनुसार कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न गएका थिए ।

‘माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ । पहिरो आउँदैन भने । तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै घरमाथि पहिरो खस्यो’, उनले भनिन् । कुलबहादुरलाई पहिराको त्रास भए पनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उनले बताइन् ।

पहिराले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उनी पहिराबाट जोगिइन् । राधिकाको सुत्ने कोठा पहिराले पुरिएको हो । गएराति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताइन् ।

पहिराबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उनी विक्षिप्त छिन् । ‘जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली। कसरी खबर गर्नु, कस्तो दिन भोग्नुपर्योँ’, राधिकाले आँखाबाट आँसु झार्दै भनिन् ।

स्थानीयका अनुसार कुलबहादुरलाई पहिराको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो। छिमेकीहरुले वैकिल्पक व्यवस्था गर्न भनेका थिए । अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन। पहिराको त्रास भने थियो ।

पोखरा–१९ का वडासदस्य विकास आचार्यले बिहीबा साँझ कुलबहादुरलाई खाना घरमै खाए पनि बास नबस्न आग्रह गरेको बताए ।

उनले भने,‘पानी परिरहेको छ, पहिराको जोखिम छ आजलाई खाना पकाएर खाए पनि रात नबस्नु हामी अर्को व्यवस्था गछौँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भनेका थिए। राति ठूलो आवाज सुनेर बाहिर निस्कँदा अरुलाई पहिराले पुरिसकेको रहेछ । छोरालाई मात्र जोगाउन सफल भयौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार