गंगालाल अस्पतालले साउन १ देखि १२ घण्टा अपरेसन गर्ने

काठमाडौँको बाँसबारीस्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ अस्पतालले आगामी साउन १ देखि १२ घण्टा अपरेसन सेवा दिने भएको छ ।

अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।

कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन अपरेसन गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको तर बिहान ९ बजे अपरेसन सुरु गर्दा एउटा अपरेसन थिएटरमा सरदर दुईटाभन्दा बढी अपरेसन गर्न नसकिने भएकाले दैनिक सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।

यसका लागि आवश्यक नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारी व्यवस्था गरिदिन उनले अस्पतालका कार्यकारी निर्देशकसँग अनुरोध गरेका छन् ।

ती कर्मचारी बिहान ७ बजेदेखि राति ९ बजेसम्मका लागि उपलब्ध गराई उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन डा. कोइरालाले माग गरेका छन् ।

सम्बन्धित समाचार