फेवाताल सिरान हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ, निरबाने गाउँ । ताल, हिमाल, खोलानाला र वनपाखाको उच्चतम् सम्मीश्रण देखिने यो गाउँ प्रकृतिको एउटा सुन्दर चित्रजस्तै लाग्छ ।
त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुंगेनी घर । जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्छन् ।
०६८ तिरको कुरा हो । वैदेशिक रोजगारीका लागि पराजुली दुबई पुगे । त्यहाँ उनले जीवनका सुन्दर ९ वर्ष गुमाए । काम र कमाइ ठिकै थियो । तर फर्किने निधो गरे । ‘बाह्र घण्टा कामको बोझ र तनाव सहन कठिन भएपछि गाउँमै केही गर्ने सोच लिएर स्वदेश फर्कें’, उनले भने, ‘गाउँ आएपछि बुबाले बनाएको पुरानो घरलाई प्रबलीकरण गरेर क्याम्पिङ र ‘होमस्टे’ व्यवसाय सुरु गरेँ ।’
०७६ मा नेपाल फर्किएका पराजुलीले सोही वर्षदेखि नै पर्यटन व्यवसायमा हात हालेका हुन् । सुरुमा विदेशी पर्यटकलाई लक्षित गरी क्याम्पिङ सेवा सुरु गरेका थिए । ‘खर्चिला र सौखिन पर्यटक बस लिएर क्याम्पिङका लागि हामीकहाँ आउँथे, कोभिड महामारीपछि त्यसमा कमी आयो अनि होमस्टेतिर लागें,’ उनले भने ।
क्याम्पिङ व्यवसाय ठप्प हुन थालेपछि पराजुलीले कोभिडकालमै होमस्टे पनि सुरु गरेका थिए । ०७८ देखि सञ्चालनमा आएको घरबास ९होमस्टे० अहिले आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय बनेको छ । ‘ढुंगे घर लेक भ्यू क्याम्पिङ एन्ड होमस्टे’ सेवामार्फत उनले पाहुनालाई लोभ्याइरहेका छन् ।
विदेशबाट फर्किएर बेंसी झरेनन्
०२८ मा उनका बुवा गोविन्द पराजुलीले बनाएको ढुंगा, माटो र काठको घर जीर्ण भइसकेको थियो । पराजुलीका बुबाआमा बेँसीमै नयाँ घर बनाएर बस्दै आएका थिए ।
वैदेशिक रोजगारबाट फर्किइसकेपछि पराजुली बेंसी झरेनन् । उकालो चढे र जीर्ण बन्न लागिसकेको पुर्ख्यौली घरको संरक्षण र साजसज्जातिर लागे । करिब ८ लाख रुपैयाँ खर्चेर घरलाई पुरानै स्वरुपमा मर्मतसुधार गरेको पराजुलीको भनाइ छ । घरमा उतिबेलै बनेका झ्यालढोका छन् । पाली र छानो ढुंगाकै छ ।
आँगनमा पनि ढुंगा ओछ्याइएको छ । रंगरोगन पनि पहाडे शैलीकै छ । त्यहाँ पुग्दा विशुद्ध गाउँले परिवेश भेटिन्छ । बढीजसो घरबास (होमस्टे) को आतिथ्यता रुचाउने पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
पाहुनालाई घरको भान्छामा जे पाक्छ त्यही खुवाउने गरिएको पराजुलीले बताए । रैथाने जातको चामल, मकै, बारीमै उब्जेको तरकारी, यामअनुसार निउरो, तामा, च्याउलगायत परिकार बनाउने गरिएको उनको भनाइ छ । माछामासुमा पनि स्थानीय जात प्रयोग गर्ने गरिएको उनले बताए ।
उक्त प्याकेजमा बिहानको खाजा पनि समावेश छ । अतिरिक्त सेवा लिएमा भने छुट्टै पैसा तिर्नुपर्छ । पारिवारिक वातावरण हुने भएकाले होमस्टेमा पर्यटक लोभिने गर्छन् । ‘पर्यटकीय याममा त व्यवसायमा भ्याइनभ्याइ हुन्छ, वनभोजका लागि यहाँ आउने पनि उत्तिकै हुन्छन्’, पराजुलीले भने, ‘वनभोजका लागि आवश्यक पर्ने सबै बन्दोबस्त हामीले नै उपलब्ध गराउँछौँ, कतिपयलाई ठाउँ मात्र भाडामा दिने गरेका छौँ ।’
फेवाताल, माछापुछ्रे, अन्नपूर्णलगायत हिमशृंखला नजिकबाट अवलोकन गर्न पाइने हुँदा उक्त स्थललाई पर्यटकले रुचाउने गरेका हुन् । पोखरा महानगरपालिका–२३ मा अवस्थित निरबाने फेवा किनारको हल्लनचोकबाट २५ मिनेटको मोटर यात्रामा पुग्न सकिन्छ ।
पदयात्रा गर्न रुचाउनेहरु पनि फेवाताललाई देब्रे पारेर खपौदी, पामे हुँदै निरबाने पुग्न सक्छन् । पर्यटकले सहरको कोलाहल छलेर छिनभरमै प्रकृतिको आनन्द लिन सक्छन् । पराजुलीले होमस्टेको क्षमता विस्तार गर्ने योजना बनाउनुभएको छ । अहिले दैनिक २० जना पाहुना राख्ने क्षमता रहेको उनले बताए ।
‘सुरुमा परीक्षण गरी हेरौँ भनेर होमस्टे सुरु गरेको थिएँ, बर्सेनि व्यवसाय झन्भन्दा झन् राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा छु’, उनले भने, ‘आफू जन्मेको घरमा सपरिवार बसेर व्यवसायमा रमाइरहेको छु, जुन लगावले यसमा जोडिए, त्यसमा सन्तुष्ट छु ।’
युवाहरुको विदेश पलायन तीव्र बनिरहेका बेला छोरा गाउँ फर्केर घरको चहलपहल बढाएकामा बुबा गोविन्द पनि मख्ख छन् । बूढेसकालमा सपरिवारसँगै हुन पाउनु पनि खुसीको कुरा रहेको बताए । ‘२५ रुपैयाँ ज्यालामा कर्मी लगाएर बनाएको घर हो, यही घरलाई अहिले छोराले जोगाएर राखेको छ, सबैले मन पर पराएका छन्’, उनले भने, ‘बिरमकुनाबाट १० रुपैयाँमा ढुंगा बोकाएर छानो छाएको हो ।’
थातथलो फर्काउन होमस्टे उत्तम
नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएका बेला पराजुली विदेशबाट आफ्नै थातथलो फर्केर जीवनमा आशा जगाइरहेका छन् । उनी गाउँका अरू युवाका लागि प्रेरणा बनिरहेका छन् । पछिल्लो समय पर्यटन क्षेत्रमा होमस्टे सेवा लोकप्रिय छ ।
सामुदायिक मात्र नभएर व्यक्तिगत लगानीमा पनि होमस्टे सेवा सञ्चालन हुन थालेका छन् । घरबासमार्फ ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सरकारी निकायले पनि तत्परता देखाएका छन् । ‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास’ कार्यक्रमअन्तर्गत यस वर्ष गण्डकी प्रदेशका ३३ सामुदायिक होमस्टेले सरकारी अनुदान पाएका छन् ।
गण्डकी प्रदेश सरकारले तीस घरबासलाई १२ लाख र तीनवटालाई १० लाख रुपैयाँका दरले अनुदान दिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्मर जिसीका अनुसार अनुदानका लागि ८९ सामुदायिक घरबासले प्रस्ताव पेस गरेका थिए ।
पहिलो चरणमा प्रस्ताव परेका ६५ मध्ये १७, दोस्रो चरणमा २१ प्रस्तावमध्ये १३ र तस्रो चरणमा तीन प्रस्ताव आएकामा तीनवटै छनोटमा परेको उनले जानकारी दिए । प्रतिस्पर्धाका आधारमा एक प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिएको हो ।
स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना र मौलिक संस्कृतिको जगेर्नामा केन्द्रित भएका घरबासले अनुदानमा प्राथमिकता पाएको पर्यटन शाखा प्रमुख जिसीले बताए । अनुदान रकमबाट ग्रामीण पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, कोसेली घर, पुस्तकालय, सांस्कृतिक सङ्ग्रहालय, उद्यान, पदमार्गलगायत पूर्वाधारमा खर्च गर्न पाउने मापदण्ड तोकिएको थियो ।
गाउँले परिवेश, पारिवारिक वातावरण, खानामा स्थानीय परिकार, मौलिक संस्कृति, रहनसहन र पर्यटकीय गन्तव्यस्थलको घुमफिर आदि घरबासका आकर्षण हुन् ।