मेगा बैङ्क १२ औँ वर्षमा, वार्षिकोत्सवका अवसरमा बाढी पहिरो पीडितलाई १२ लाख सहयोग 

मेगा बैङ्क नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ ।  ११औँ वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैङ्क स्थापना गरेका थियौं, सोही अनुरूप सबैभन्दा बढी चुक्ता पुँजी र सेयर धनी भएको बैङ्कको रूपमा मेगा बैङ्क स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात् गर्दै हामीले नयाँ रूपमा बैङ्कलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भने– ‘राष्ट्र बैङ्कले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने, उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा मेगा बैङ्कको लगानी केन्द्रित गर्छौँ ।’

मेगा बैङ्कका अध्यक्ष शाहले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैङ्कले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको जानकारी दिए । ‘युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैङ्कले विशेष भूमिका खेल्छ’– उनले भने । मेगा बैङ्कको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रहेको अध्यक्ष शाहले बताएका छन् । ‘यो बिचमा मेगा बैङ्कले वित्तीय बजारमा छुटै पहिचान र ब्रान्ड बनाउन सफल भएको छ’– अध्यक्ष शाहले भने ।

मेगा बैङ्ककी सिइओ अनुपमा खुञ्जेलीले संस्थापक, शेयरधनीहरु, सञ्चालक समिति, ग्राहकहरू, नियामक निकाय, कर्मचारी वर्ग र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औँ वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैङ्कलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन । मेगा बैङ्कले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्रान्ड बनाउन सफल भएकोमा खुसी लागेको बताउँदै उनले बैङ्कको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेको बताएकी छिन् ।

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात् गर्दै मेगा बैङ्कले ग्राहकहरूलाई अत्यन्तै नवीनतम र आकर्षक डिजिटल बैङ्किङ सेवा प्रदान गरिरहेको सिइओ खुञ्जेलीले बताइन । ‘कोभिड– १९ को विद्यमान अवस्थालाई मध्यनजर गरी डिजिटल बैंकिड र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरूप ग्राहकहरूलाई लक्षित गर्ने योजना बनाएका छौं’– सिइओ खुञ्जेलीले भनिन् ।

सञ्चालनको ११ बर्षको अवधिको वित्तीय सूचकाङ्कलाई केलाएर हेर्दा मेगा बैङ्कले व्यावसायिक उचाइ हासिल गर्न सफल भएको छ भने आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरूलाई एकल अङ्कको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको छ । मेगा बैङ्कको बितेको ११ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको छ । देशको २८ औँ वाणिज्य बैङ्कका रूपमा स्थापना भएको मेगा बैङ्क चुक्ता पुँजीका हिसाबले छैटौँ स्थानमा छ ।

२०७८ मसान्तसम्ममा मेगा बैङ्कको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ । मेगा बैङ्कले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटिएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैङ्किङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई १२ लाख सहयोग 

यस्तै ११औँ वार्षिकोत्सवका अवसरमा मेगा बैङ्कले सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

मेगा बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैङ्कको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्य अनुरूप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको मेगा बैङ्कले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार