‘नम्बरी सुन’ हेर्ने १२ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार उपहार दिइने

आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा भएको छ ।

ललितपुरस्थित झम्सिखेलमा सोमबार पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई फिल्मका तर्फबाट सुन उपहार दिने घोषणा गरे ।

उनले खल्ती एपबाट फिल्म ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे ।

उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने खुलाए । प्रस्तुतकर्ता खाती पेसाले सुन व्यवसायी हुन् ।

यस फिल्ममा नम्रता सापकोटा र विनोद न्यौपाने, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

सम्बन्धित समाचार