चार लाखबढी घुस रकम र ५० लाख ६० हजारको चेकसहित दुई कृषि प्राविधिक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकम र ५० लाख ६० हजार रुपैयाँको चेकसहित दुई जनालाई पक्राउ गरेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।

धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको हो ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीबाट नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू सो रकमसहित पक्राउ परेका छन् ।

यस्तै मोहनसिंहको साथबाट ४५ लाख साठी हजारको ५ थान चेक र अशोकसिंहको साथबाट पाँच लाखको चेकसहित कुल ५० लाख ६० हजारको चेक बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार