बंगलादेशमा सरकारी जागिरमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’ भनिन्छ । सरकारले तीनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति ल्याएको थियो ।
यसलाई प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई रिझाउनका लागि उक्त नीति ल्याएको र यसले देशका अन्य युवारहरू अवसरबाट बञ्चित हुने भन्दै त्यहाँका विद्यार्थीहरू दुई सातादेखि आन्दोलनरत छन् ।
हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् ।
प्रदर्शनकारीहरुले सरकारी नोकरीमा आरक्षण हटाउन माग गर्दै आएका छन् ।
बुधबार प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेकी थिइन् । उनले प्रदर्शनकारीको उचित माग सम्बोधन गर्ने आश्वासन दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी थिइन् ।
उनले सम्बोधन गरेको भोलिपल्ट नै आन्दोलन झन् चर्किएको हो । उनीहरुले बिहीबार बंगलादेश बन्द आह्वान गरेका थिए । बिहीबार राति विभिन्न ठाउँमा हिंस्रक प्रदर्शन पनि भएको बीबीसीले जनाएको छ ।