सम्झनाको उत्कृष्ट ब्याटिङमा एसिया कपमा नेपालको विजयी सुरुवात

ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् ।

यसबाहेक नेपालका लागि सीता राना मगरले ७, कविता कुँवरले २, इन्दु बर्माले ६, रुबिना क्षेत्रीले १० र पुजा महतोले ७ रन जोडे । यूएईले नेपाललाई १४ अतिरिक्त रन दिएको थियो ।

यूएईका लागि काविशा एगोडेजले ३ विकेट झार्दा लावण्या केनीले १ विकेट लिएकी थिइन् ।

यूएईका लागि खुसी शर्माले ३६ र काविशा एगोडेजले २२ रन बनाउनेबाहेक अरुले धेरै रन जोड्न सकेनन्। ईशा ओजा १०, तीर्थ सतिश ९, रिनिथा राजिथ ६, सामिरा धार्निधार्का १३, हिना हचन्दनी ९, वैष्णवी महेश ०, रितिका राजिथ ६ र लावण्या केनीले २ रन जोडे । नेपालले अतिरिक्त २ रन दिएको थियो ।

बलिङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट र सबनम राई र कृतिका मरासिनीले समान १ विकेट झारे ।

खेलमा नेपालकी सम्झना प्लेयर अफ द म्याच भइन् । जितसँगै समूह एमा रहेको नेपालले २ अंक जोडेको छ । नेपालले अब भारत र पाकिस्तानसँग खेल्न बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार