इजरायली सेनाले सोमबार गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ ।
दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हमास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ । इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन् ।
यस महिनाको सुरुमा इजरायलले कम्तिमा १.८ मिलियन प्यालेस्टिनीहरू अहिले भूमध्यसागरको १४ किलोमिटर मानवीय क्षेत्रमा रहेको घोषणा गरेको थियो । राष्ट्रसङघ तथा मानवतावादी समूहका अनुसार त्यस क्षेत्रको धेरैजसो भाग हाल सरसफाइ र चिकित्सा सुविधाविहिन शिविरले भरिएको छ ।
गाजा युद्धविरामको माग गर्दै वार्ताको क्रममा अमेरिका र इजरायली अधिकारीले सम्झौता पहिलेभन्दा नजिक रहेको घोषणा गरिएको थियो ।
बिहीबार वार्ताको लागि टोली पठाइने नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्ट, कतार र अमेरिकाले इजरायल र हमासलाई चरणबद्ध युद्धविराम सम्झौताका लागि दवाव दिइरहेका छन् । गाजा युद्धले ३८ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणबाट सुरु भएको युद्धमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिएभने २५० जना बन्धक बनाइएका थिए ।
इजरायली सेनाले सोमबार मध्य र दक्षिणी गाजामा कारबाही जारी राखेको बताएको छ । आइतबार गाजामा इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको अस्पतालमा अधिकारीहरूले जनाएका छन् ।
घेराबन्दीले गाजामा खतरनाक मानवीय अवस्था सिर्जना गरेको छ भने यस क्षेत्रका २३ लाख मानिसका लागि पानी र सरसफाइ सेवा अभाव छ ।