बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

बंगलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच त्यहाँको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक गरिएको छ ।

तीनवटै वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा सन्देश जारी गरिएको छ ।

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गरिएको छ । अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।

समूहले तत्काल ह्याकर, ‘ओएसआइएनटी’ अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

“न्यायका लागि लडाइँ सुरु भइसकेको छ, तयार रहनुहोस्,ू ह्याकरहरूले चेतावनी दिएका छन् । उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ ।

बंगलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरूको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा छन् ।

सम्बन्धित समाचार