आईकाओको रिपोर्ट एक हप्ताभित्र पेश गर्न संसदीय समितिको निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले पर्यटनमन्त्री बद्री पाण्डेलाई सन् २०२२ को आईकाओको रिपोर्ट एक हप्ताभित्रसमितिमा पेस गर्न निर्देशन दिए ।

उनले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए । प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो रु सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिए ।

उनले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिए ।

ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत सभापति यादवले निर्देशन दिए।

‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस्। अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु’ उनले भने, ‘ईयू सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो । अर्को बैठकमा आउँदा ईयू सेफ्टीलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं। तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार