मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारण एयर इन्डियाका उडान प्रभावित भएको छ । मौसमी समस्याका कारण केही उडान रद्द गरिएको छ । केही उडान अन्यत्र मोडिएको जनाइएको छ ।
उडान प्रभावित भएपछि बिहीबारका निम्ति बुकिङ फिर्ता गरिएको एयर इन्डियाले जनाएको छ । एयरलाइन्सले एउटा लिंक सार्वजनिक गर्दै यात्रुलाई एयरपोर्ट जानुअघि उडानको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । यात्रुका निम्ति एयरलाइन्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी सार्वजनिक गरेको छ ।
एयरलाइन्सले भारी वर्षाका कारण सम्भावित अवरोधको चेतावनी दिँदै मुम्बई आउने र जाने उडान प्रभावित हुन सक्ने जनाएको छ । बुधबार वर्षाका कारण मुम्बई जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको थियो । सार्वजनिक यातायातमा बाधा पुग्दा धेरै यात्रु असुविधामा परेको जनाइएको छ ।
बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईका सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ । बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ ।
मुम्बईका पानी आपूर्ति केन्द्रमा भारी वर्षासँगै भण्डारण वृद्धि भएकाले विहार, तुलसी, तानसा र मोदकसागरलगायत जलाशय भरिएको छ । यो अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ ।
भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका निम्ति ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ । महाराष्ट्रमा जुलाई २६–२७ सम्म भारी ९११५ देखि २०४ मिलिमिटर० वर्षा हुने चेतावनी दिइएको छ ।
यस्तै, महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरि र सिन्धुदुर्ग जिल्लामा पनि वर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ ।