कोशीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने, भागबन्डाबारे कांग्रेस–एमाले छलफलमा जुट्दै

कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ । माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री छिन् ।

मुख्यमन्त्री कार्कीले समय दिएलगत्तै राजीनामा बुझाउने तयारी रहेको एक मन्त्रीले बताए ।

केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोशीमा माओवादी सरकार छाड्नुपर्ने दबाबमा थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने विषय भने खुलाइएको छैन । यसबारे छलफल गरेर मात्र निर्णय लिइने माओवादी संसदीय दलले जनाएको छ ।

कोशीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌ सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच कोशीको मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन शुक्रबार काठमाडौंमा छलफल सुरु हुँदैछ ।

बुधबार मात्रै काठमाडौँमा सम्पन्न कांग्रेस कोशी संसदीय दलको बैठकले सरकारमा सहभागी हुनुअघि भागबन्डा र बजेटबारे सहमति हुनुपर्ने निर्णय गरेको थियो । आफूले नरूचाएको बजेटले सरकार चलाउन नसकिने भन्दै कांग्रेस कोशी संसदीय दलले अहिलेको बजेट पुनरवलोकन गर्नैपर्ने आवश्यकता महसुस गरेको पराजुलीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार