कमला ह्यारिसलाई ओबामा दम्पतीको समर्थन

पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। राष्ट्रपति जो बाइडेनलगायत सो पार्टीका प्रभावशाली हस्तीहरूले ह्यारिसलाई समर्थन गर्दा अहिलेसम्म ओबामाले मुख खोलेका थिएनन्।

पत्नी मिसेलका साथ संयुक्त वक्तव्य जारी गर्दै ओबामाले ‘यो महत्त्वपूर्ण क्षणले माग गर्ने भिजन, चरित्र र शक्ति ह्यारिससँग भएको उल्लेख गरेका छन्। बाइडेनले गत आइतबार राष्ट्रपतिको प्रतिस्पर्धा त्यागेका थिए। त्यसयता ह्यारिसले पार्टीका एक सयभन्दा धेरै नेताहरूसँग छलफल गरेको र समर्थन मागेको बताइएको छ।

तर, त्यतिबेला ओबामाले प्रतिस्पर्धा छाडेकोमा बाइडेनको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन जनाएका थिएनन्। त्यसैले गर्दा यसबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो।

तर, शुक्रबार ओबामा दम्पतीले ह्यारिसलाई समर्थन गर्दै उनलाई जिताउन सकेसम्म सबैथोक गर्ने वाचा गरेका छन्। उनीहरूले ह्यारिसलाई समर्थन गर्दै फोन गरेको भिडिओ क्लिप पनि सार्वजनिक गरेका छन्।

उसो त पार्टीको उम्मेदवार बन्न आवश्यक बहुमत प्रतिनिधिहरूको समर्थन ह्यारिसले जुटाइसकेकी छन्। एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार