सौर्य विमान दुर्घटना : क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने आफन्तको अडान

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोस्टमार्टम गरिसकेको छ ।

मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडानमा छन् । बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । उनीहरूसँग सरकारी पक्षले छलफल थालेको छ।

पोस्टमार्टमका लागि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पताल समेतका गरी २५ जना चिकित्सकहरू खटिएका थिए।

बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भएको छ । पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको थियो ।

चालक मनीषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा।डा।मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार