कांग्रेस–एमालेले अधिकार खोस्दैछन्, सडकमा पलेँटी कसेरै भए पनि सफल हुन दिँदैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे फेरि सडकमा पलेँटी कसेरै भएपनि संविधान संशोधनका लागि हुने दुस्प्रयास सफल हुन नदिने बताएका छन्। शनिबार काठमाडौँमा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले जनताको अधिकार खोस्नेगरी संविधान संशोधनको विषय अघि सारेको दाबी गरे। ‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ। संविधानमा महिलाको अधिकार अझै पुगेको छैन भन्नु पार्टी हुनुको नाताले संविधान संशोधनको पक्षमा छौँ। तर हाम्रो विरोध संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुुस्साहस हुँदैछ, हामी त्यसो गर्न दिँदैनौँ,’ अध्यक्ष प्रचण्डले भने।

आवश्यक पर्दा सडक र जनताको साथ लिएर जनताको अधिकार खोस्नेगरी हुन लागेको संशोधनको सफल हुन नदिने उनले बताए। ‘हामी जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तीनिहरूको दुस्प्रयास सफल दिन हुँदैन भनेका हौँ,’ उनले भने। संविधान संशोधनको ढोका खुला राखिएको भए पनि जनताले प्राप्त गरेका अधिकार खोस्नेगरी हुन नसक्ने उनको भनाइ थियो। ‘संविधान संशोधनको विरोध होइन। समय समयमा जनता र राष्ट्रको आवश्यक्ता अनुसार संविधानको सबै प्रावधानहरू संशोधन हुन सक्छन् भनेर ढोका खुला राखिएको छ,’ उनले भने, ‘अहिले दुईवटा पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको, नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्न खोज्ने, उल्ट्याउने र देशलाई फेरि पहिलाकै निरंकुशतातिर लान खोज्ने भएको छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार