नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झालाई पक्राउ गर्ने डीआईजी डा. केसीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका डीआईजी डा.मनोज केसीलाई सरुवा गरिएको छ । डा. केसीलाई ब्यूरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो ।

ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । केसीको १६ जेठमा ब्यूरोमा सरुवा भएको थियो । सो अवधिमा डा. केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरे ।

शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् ।  झा र थापा १४ असारमा पक्राउ परेका थिए ।

केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।

उनी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान थाल्न लाग्दा ४ भदौ २०८० मा तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा केसी उपत्यका अपराध अनुसन्धान कार्यालयबाट हटाइएका थिए ।

त्यसबेला उपत्यका प्रहरी प्रमुख एआईजी श्याम ज्ञवालीलाई पनि सरकारले चार महिनामै हटाएको थियो । यसपटक पनि बेचन झा पक्राउपछि केसीको जिम्मेवारी खोसिएको हो ।

विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ । अधिकारी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार