फिल्म ‘मोदीबेनी’ टिमको बागमतीमा र्‍याफ्टिङ

यही साउन १८ गते प्रदर्शन हुने फिल्म ‘मोदीबेनी’ टिमले बागमती नदीमा र्‍याफ्टिङका शुभारम्भ गरेका छन् । वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठसहितका कलाकारले र्‍याफ्टिङ गरेका हुन् ।

नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्राअन्तर्गत शनिबार र्‍याफ्टिङ शुभारम्भ गरिएको हो ।

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए । अभिनेत्री वर्षा शिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् ।

त्यस्तै अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौँमै र्‍याफ्टिङको आनन्द लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकका लागि पनि आकर्षण हुन सक्ने बताए ।

बागमती सभ्यता बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्‍याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ र्‍याफ्टिङ गर्ने गर्छन् ।

आइतबार थापाथलीदेखि चोभारसम्म सर्वसाधारणले पनि र्‍याफ्टिङ गर्न पाउनेछन् । यसका लागि विद्यार्थीलाई ५ सय र अन्यलाई ९ सय रुपैयाँ शुल्क तोकिएको छ ।

काठमाडौँमा पनि र्‍याफ्टिङ नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए ।

शंकर कोइराला निर्देशित फिल्ममा वर्षा र अमर प्रतापसहित सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य, हिउवाला गौतमलगायतको अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता छन् । चलचित्रलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन् ।

यस फिल्मलाई काठमाडौँ उपत्यकाभित्र रिच इन्टरटेन्मेन्टले र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दै छन् ।

सम्बन्धित समाचार